बलिवुड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा दुबईमा निधन

दुबई । बलिवुड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा दुबईमा निधन भएको छ ।
शनिवार राती दुबईमा उनको असामयिक निधन भएको भारतीय मिडियाहरुले बताएका छन् ।  अभिनेत्री श्रीदेवीको हृदयघातले निधन भएको हो । पति बोनी कपुर र छोरी खुशीको साथमा उनी आफन्तको विवाहमा सरिक हुन दुबई पुगेकी थिईन् ।
श्रीदेवीको निधनको खबरले यतिबेला बलिउड सहित संसारभरका उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा दु:ख ब्यक्त गरिरहेका छन् ।
सन् १९६३ अगस्ट १३ मा तामिलनाडुमा जन्मिएकी श्रीदेवीले १९७५ मा ‘जूली’ नामक चलचित्रबाट बाल कलाकारको रुपमा बलिउडमा डेब्यु गरेकी थिईन् । तर, १९८३ मा आएको उनका चलचित्र ‘हिम्मतवाला’ले भने उनलाई रातारात स्टार बनाएको थियो । ‘हिम्मतवाला’ पछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । पछिल्लो समयमा उनले २०१२ मा ‘इग्लिश विईलिस’, २०१७ मा ‘मम्’ नामक चलचित्रमा काम गरेकी थिईन् ।
बलिउडी यि सुन्दरी नायिका श्रीदेवीले १९९६ मा बोनी कपुरसँग विवाह गरेकी थिईन् । श्रीदेवीको असामयिक निधनले सबैलाई स्तब्ध तुल्याएको छ । सबै कलाप्रेमीहरुको सम्झनमा सधै रहिरहनेछिन् श्रीदेवी । अलविदा श्रीदेवी ।