सिमलपानी, सिद्धारा, जलुके, जुकेना र ठाडाका जंगलमा बहुमूल्य काठ नोक्सान

शीतगंगा नगरपालिकाको पावरा सामुदायिक वनमा ढालिएको सालको बूढो रूख ।
वीरेन्द्र केसी कान्तिपुर
सिमलपानी, अर्घाखाँची  । काठमा सबैभन्दा राम्रो साल र असना मानिन्छ । घर बनाउँदा पाएसम्म धेरैले यिनै काठका ढोका, झ्याल राख्न खोज्छन् । वनमा भएको अग्लो र ठूलो रूख काट्नेमा सबैको मन जान्छ ।
तर, होसियार, सालको मोटो रूख छ भन्दैमा राम्रै पर्छ भन्ने हुँदैन । बालीचक्र (८० वर्ष) भन्दा पुराना रूख काटेर ढालेपछि भित्र पूरै धोन्द्रो भेटियो । जुन काठ होइन, दाउराका लागि मात्रै हुन्छ ।
जिल्लाको शीतगंगा नगरपालिकाको सिमलपानी, सिद्धारा, जलुके, जुकेना र ठाडाका सामुदायिक र राष्ट्रिय वनमा ठूला सालका रूखले जंगल ढाकिएको छ । वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि बूढा रूख काट्ने र नयाँ हुर्काउने गरिन्छ । सिमलपानीको पावरा र धिरीखोला सामुदायिक वनको आधाभन्दा बढी क्षेत्रफल दुई वर्षभित्रै वैज्ञानिक व्यवस्थापन भइसकेको छ । त्यहाँ साल, असना, बाँक्री र पाटे धाइरोको उचाइ अग्लो र मोटा रूख धेरै काटिए । सालका मोटा रूखको काठ राम्रो पर्ला भनेर उपभोक्ता हैसिएका थिए । तर, ढाल्दा भित्र पूरै धोन्द्रा भेटिए ।
‘काठका लागि गोलिया बनाउनै मिल्दैन,’ पावरा सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष युगेन्द्रबहादुर रेश्मीले भने, ‘टुप्पोसम्म धोन्द्रो परेका धेरै रूख छन् । भित्र कीराले खाएर कालो धूलोको पोको नै छ ।’ बाहिर बोक्रोले ढाकेको र भित्र पूरै धूलो भरिएको हुन्छ । काठ होला र धेरै पैसा पर्ला भन्ने आशा थियो । तर, दाउरा मात्रै भएको उनले बताए । साल र असनाको काठ सबैभन्दा महँगोमा बिक्री हुन्छ । घरका झ्याल, ढोका, पलङ, कुर्ची अरूको भन्दा यसको टिकाउ हुन्छ । ‘पुराना जीर्ण घर भत्काउँदासमेत सालका मसी जस्ताको तस्तै हुन्छन्,’ उनले भने, ‘पुराना काठ पनि महँगोमै बिक्छ ।’
एक सय ४० हेक्टर क्षेत्रफलमध्ये एक सय ११ मा वन वैज्ञानिक भइसकेका छन् । प्रत्येक वर्ष डेढ हेक्टरमा मात्रै वैज्ञानिक हुन्छ । एक सय २४ रूख काटिन्छ । जसमध्ये ८० भन्दा बढी सालका बूढा रूख ढाल्दा ढोका, झ्याल, पलङ बनाउन नमिल्ने काठ भएको उनले बताए । वनको आम्दानी सोचेजस्तो नभएको उनले सुनाए । ‘वैज्ञानिक नबनाएको भए सालको रूख ठूलो छ, धेरै पैसा पर्छ भन्ने मात्रै हुँदोरहेछ,’ समूह उपाध्यक्ष दुर्गादेवी पाण्डेले भनिन्, ‘काटेर ढाल्दा त भित्रको गाबी पूरै धोन्द्रो । धेरै वर्षको रूखमा करोडौं मूल्यका काठ छन् भन्दा हामी झुक्कियौं ।’ वैज्ञानिक वनमा नयाँ रूख भने छिटै हुर्केका छन् । गर्मी सिजनमा आगालागीबाट बचाउन फायरसाइड बनाउने, पातपतिंगर रूखको बोटमा राखिदिने र मलजल गरेपछि छिटै हुर्किनेबाट आन्दानी होला भन्ने आशा रहेको उनले बताइन् । रूख बूढो भएपछि ढल्छ । त्यो सबै काठमा कामै लाग्ने हुँदैन ।
सिमलपानीकै धिरीखोला सामुदायिक वनमा पनि यस्तै साल र असनाका रूख धेरै भेटिए । ‘जंगलको सबैभन्दा ठूलो र मोटो रूखको लाखौं मूल्य पर्ला भनेर काट्यौं,’ समूह सचिव डोगबहादुर बुढाथोकीले भने, ‘ढालेर हेर्दा त पाइपजस्तै मान्छे छिर्ने ठूलो प्वाल छ । आस गर्न मात्रै भयो ।’ सयौं वर्षदेखिका पुराना रूख गोलिया बनाएर काठमा बिक्री गर्दा मूल्य धेरै पर्छ । बहुमूल्य काठ यत्तिकै खेर जाँदा उपभोक्ताको आम्दानी घटेको छ । यो वनको दुई सय सात हेक्टरमध्ये एक सय २६ वैज्ञानिक भइसकेको छ । रूख कटान हिउँदमा मात्रै गरिन्छ । ‘अघिल्लो वर्ष एक सय ३४ बूढा रूख हटाइयो,’ उनले भने, ‘काठ र दाउरा बेच्दा एक करोड १२ लाख आम्दानी भयो । सबैभन्दा मोटा र बूढा ७० भन्दा बढी रूख पूरै धोन्द्रा थिए । सबै रूख सग्ला भएको भए ५ करोडभन्दा बढी आउँथ्यो ।’
यस क्षेत्र हेर्ने इलाका वन पावराका प्रमुख एवं सहायक वन अधिकृत जितेन्द्रसिंह खड्काले सयौं वर्षका बूढा रूखको जंगल भएकाले धेरैजसो साल र असना काटदा धोन्द्रा रहेको बताए । ‘रूखको बालीचक्र भनेर ८० वर्षलाई लिइन्छ,’ उनले भने, ‘रूखको आयु असी वर्ष मात्रै हुन्छ । योभन्दा सयौं वर्षका रूख बाहिर देख्दा मोटो, ठूलो र काटेर ढाल्दा धोन्द्रा हुन्छ ।’ वैज्ञानिक वन व्यवस्थापनले पुराना रूख कटान भएका छन् । धेरैजसो बहुमूल्य पर्ने काठ दाउराको रूपमा परिणत भएका छन् । वन क्षेत्रमा यस्ता रूख धेरै भएकाले सबै सामुदायिक वनमा वैज्ञानिक बनाएर बूढा काट्ने र नयाँ हुर्काएर छिटै मनग्य आम्दानी लिन सकिने उनले बताए ।

अन्य समाचारहरु