शान्ति–सुरक्षा दिन–प्रतिदिन खस्कँदै गएको भन्दै सत्तारुढ दलका सांसदहरुलेसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
एकपछि अर्को गर्दै बलात्कारका घटना भइरहेको, अपहरण तथा हत्याका घटना भइरहँदा सरकार मौन बसेको र पछिल्ला दिनमा मानवअधिकार उलंघनका घटनासमेत बढ्दै गएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा मुलुकमा बढ्दै गएको हत्या, अपहरण र बलात्कारजस्ता जघन्य कृत्यप्रति सत्तारुढ र विपक्षी दलका सांसदहरुले रोष प्रकट गरेका हुन् ।
उनीहरुले कन्चनपुरमा एकपछि अर्को गर्दै बलात्कारका घटना हुँदासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए ।
विशेष समयमा बोल्दै सांसदहरुले बालिका तथा किशोरीमाथिको बलात्कारका घटना एकपछि अर्को बढ्दै गएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
समग्र सुरक्षा अवस्थासमेत राम्रो नभएको भन्दै सत्तारुढ सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले भक्तपुरमा बालक अपहरणपछि भएको हत्याको घोर भर्त्सना गर्दै प्रहरीको असावधानीका कारण बालकको हत्या भएको कुरा सार्वजनिक भएकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
बालकका हत्या अभियुक्तलाई पक्रेर प्रमाण नै नस्ट हुने गरी ‘इन्काउन्टर’का नाममा हत्या गरिएकामा पनि सांसदहरुले आपत्ति जनाए ।
उनीहरुले यसबारे सरकार र राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम बहुमतका आडमा अस्वीकृत गरिएकामा असन्तुष्टि जनाउँदै जोशीको प्रमाणपत्र छानबिन गरेर आरोप प्रमाणित गर्न सरकारलाई चुनौतीसमेत दिएको छ ।
राजपा नेपालका सांसदहरुले भने संघीयताको मर्मअनुसार प्रदेश सरकारलाई काम गर्न नदिएको भन्दै वर्तमान सरकार संघीयता खारेज गर्न लागिपरेको आरोप लगाए ।
२ नम्बर प्रदेशमा प्रदेश सरकारले कर्मचारी, प्रहरी भर्ना गर्न खोज्दा केन्द्र सरकारले रोक लगाएको आरोप उनीहरुको छ ।
प्रदेश सरकार कामविहीन बनेको र कुनैपनि सरकारी निकायले प्रदेशको निर्देशन मान्ने अवस्था नरहेको भन्दै उनीहरुले संघीयताप्रति केन्द्र सरकारको दृष्टिकोण माग गरे । इमेजखबरमा समाचार छ ।