प्रतिनिधिसभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत् गरे ।
विधेयक प्रस्तुत् गर्दै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।
विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत् गर्दै सांसद प्रेम सुवालले कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिन नहुने बताएका थिए ।
सांसद सुवालको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको थियो ।
कर्मचारी समायोजन अध्यादेश बहुमतले स्वीकृत
बैठकले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ बहुमतले स्वीकृत गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभामा पेस गरेको सो अध्यादेशलाई प्रतिनिधिसभाका बहुमत सदस्यले स्वीकृत गरेका हुन् ।
सांसद गगनकुमार थापाले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत् गरेका थिए ।
बैठकमा सांसद थापाले विधिशास्त्रीय ढंगले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५ संघीयताविपरीत भएकाले सूचना फिर्ता नलिने जानकारी गराएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लोकतान्त्रिक प्रक्रियासँग जोडिएर आएकाले कुनै शंका नगर्न संसदलाई आग्रह गरे । रासस