सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश गरेको हो।
उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो।
शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो।
उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश सदर गर्दै उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।
शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्।
गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्। बहुबिवाहको अभियोगपछि शिल्पा र छविलाई पक्रन जिल्ला अदालतले आदेश दिएको हो।
सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई आदेश दिएको छ। दर्ता गर्ने क्रममा र सुनुवाइका क्रममा शिल्पा अदालतमा उपस्थित थिइनन्। देशसन्चारमा समाचार छ ।