मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार निधन भएको हो। खानको कोलोन इन्फेक्सनका कारण निधन भएको बताइएको छ। सन् २०१८मा उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।
बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ।
बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा खानको शव गाडिएको हो।
परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम विदाइमा बीस जनालाई मात्रै प्रवेश गर्न दिइएको थियो।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।
गत शनिबार उनकी आमाको निधन भएको थियो।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।
एजेन्सी