कर्णाली प्रदेशमा धान दिवस मनाउन आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभएको छ ।
चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताउनुभयो ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाउँदा फरक सन्देश दिन नसकिएको बताउनुभयो ।
यद्यपि किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको बताउँदै किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको मन्त्री केसीले जनाउनुभयो । इमेजखबरमा समाचार छ ।