तन, मन, धन र आकाश कसरी सफा गर्ने

पन्डित ज्योतिष – बिष्णु प्रसाद खनाल
सन्धिखर्क १२. हाल काठमाडौं।
पूजा (यज्ञ)किन गर्नुपर्छ के छ यसको महत्त्व ? वा मैलिएको तन मन धन र आकाश कसरी  सफा गर्ने?
यज्ञ मानव सृष्टिको प्राण र आत्मा हो। यज् धातुमा नङ् प्रत्यय लागेर यज्ञ शब्द बन्दछ।व्याकरणको “धातव: अनेकार्थाः” भन्ने सिद्धान्त र “यज देवपूजासङ्गतिकरणदानेषु”भन्ने पाणिनीय धातुपाठ अनुसार यज धातुको देवपूजा, सङ्गतिकरण र दान यी तीन अर्थ गरिएको छ। यस अनुसार:
*जुन कार्यमा इन्द्रादि देवगणको सत्कार र पूजा हुन्छ /जुन कार्य विशेषका लागि देवताहरुको अनुष्ठान हुन्छ त्यो देवपूजा अन्तर्गतको यज्ञ हो ।
*धर्म,देश,वर्णाश्रमको मर्यादा रक्षा एवं विश्वकल्याणका लागि जहाँ महापुरुषहरु एकत्रित हुन्छन् जुन अनुष्ठानमा आफ्ना बन्धु-बान्धव आदि प्रियहरुको सम्मिलन हुन्छ त्यो सङ्गतिकरण यज्ञ हो।
*जहाँ यथाशक्ति देश, काल,पात्र आदिको श्रद्धापूर्वक र विचारपूर्वक द्रव्यत्याग गरिन्छ, जुन कर्मले याचकहरुलाई सन्तुष्ट गरिन्छ र जुन कर्म ले आफ्नो सम्पूर्ण नै भगवदर्पण गरिन्छ यी सबै दान अन्तर्गतका यज्ञ हुन ।
मुख्यतया, यज्ञ सात्त्विक ,राजसिक र तामसिक गरी तीन प्रकारका हुन्छन् ।कुनै पनि फलको आकाङ्क्षा नराखी श्रद्धापूर्वक तथा भक्तिपूर्वक शास्त्रीय विधि अनुसार मनलाई समाधान गर्दै गरिएको पूजन प्रकृयालाई सात्त्विक यज्ञ भनिन्छ ।
अफलाकाङ्क्षिभिर्यज्ञो विधिदृष्टो य इज्यते ।
यष्टब्यमेवेति मन: समाधाय स सात्त्विकः ।।भ.गीता(१७/११)
विविध प्रकारको फलको आकाङ्क्षा गरि दम्भ आचरण पूर्वक गरिएको पूजन प्रकृयालाई राजसिक यज्ञ भनिन्छ।
अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत्।
इज्यते भरत श्रेष्ठ तं यज्ञं विद्धि राजसम् ।भ.गीता (१७/१२)
विना शास्त्रीय विधि,अन्नदान नगरी,मन्त्रोच्चारण विना,दक्षिणा, श्रद्धारहित गरिएको पूजन प्रकृयालाई तामासिक यज्ञ भनिन्छ ।
विधिहीनमसृष्टटान्नं मन्त्रहीनमदक्षिणाम्।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते।।भा.गीता(१७/१३)
मानव कल्याणका निमित्त वैदिक विधान अनुरुप सात्त्विक यज्ञ गर्ने गराउने परम्परा आदि कालदेखि नै प्रारम्भ भै आएका हुन।
“यज्ञो वै श्रेष्ठतरं कर्म”(श.ब्रा .१/७/१/५) यज्ञ नै सबैभन्दा श्रेष्ठ कर्म हो। “यज्ञो वै विष्णुः”(तैत्तिरीय संहिता १/७/४)
यज्ञ नै विष्णु हुन्।
प्रजापतिर्वै यज्ञ !(गोपथ ब्रा.पू.
२/१८)प्रजापति नै यज्ञ हुन्।
“चोदयित्री सूनृतानां चेतन्ती सुमतीनाम्।यज्ञ दधे सरस्वती ।”
(यजु.२०/८५)
मीठो र साँचो बोल्न शिक्षा दिने बुद्धिको खराब असत्य बिचार हटाई उत्तम विचार राखेर सद्बुद्धि गराउने त्यस्ति सरस्वतीले यज्ञलाई थामेकी हुनुहुन्छ।
“श्रेयान्द्रव्यमयाद् यज्ञाज्ज्ञानयज्ञः परन्तप।”भ.गीता(४/३३)
अरुयज्ञ भन्दा ज्ञानयज्ञ ठुलो छ।
“अर्थ यज्ञो भुवनस्य नाभिः”(ऋ.१/१६४/४५,यजु२३/६२,अर्थव ९/१०/९४)
यज्ञ सम्पूर्ण ब्रह्माण्डको नाभि हो।
आध्यात्मिक,आधिदैविक र आधिभौतिक विपत्तिहरु टरुन् र संसारको कल्याण होस् भनी गरिने कर्मलाई “यज्ञ” भनिन्छ।यज्ञको लक्षणा गर्दै मत्स्यपुराण(१४४/४४)मा भनिएको छ-
“देवानां द्रव्यहविषां ऋक्सामयजुषां तथा ।
ऋत्विजां दक्षिणानां च संयोगो यज्ञ उच्चयते।।”
अर्थात-देवता हवनीय द्रव्य,वेदमन्त्र,ऋत्विक् तथा दक्षिणा यी पाँच उपादानहरुको कुनै कर्म विशेषमा गरिएको जुटानलाई यज्ञ भनिन्छ।
श्रीमद्भगवतगीताका अनुसार भने “शास्त्रविधिले गरिने सम्पुर्ण विहित क्रियाहरु “यज्ञ नै हुन् र यस्तो यज्ञ अन्तर्गत द्रव्ययज्ञ,तपयज्ञ,योगयज्ञ, प्राणायाम आदि सबैलाई यज्ञ नै मानेर(गी४/२४-३०)यिनलाई अर्थात् यज्ञलाई परमात्मा प्राप्तिको साधन भनिएको छ।यज्ञबाट नै वर्षा भएर अन्न उत्पन्न हुन्छ र सारा प्राणीलाई पोषण मिल्छ।(भा.गीता.३/१४) त्यसैगरी कालिका पुराण( ३९/४०)मा “सर्व यज्ञमयं जगत्” भन्दै जगतमा रहेर गरिने सन्ध्या, तर्पण,बलि विश्व देव,देवपूजन,अतिथिसत्कार व्रत,जप,तप,कथाश्रवण,तीर्थयात्रा,अध्ययन,अध्यापन,खान-पान आदि नित्य र नैमितिक काम्य सबै नै यज्ञस्वरुप भनिएको छ । धार्मिक ग्रन्थ अनुसार यज्ञको आविर्भाव कल्पको आदिमा ब्रह्मा बाट भएको हो।जुन कुरा मनुस्मृति(१/२२,१/२३)ऐ.२३,ब्रह्मपुराणको (१/४९)भा.गी.(३/१०)यजुर्वेद ३१अौ अध्याय अन्तर्गत (१-१६) सम्म रहेका पुरूषसूक्तले पनि यज्ञ सृष्टि संगै सुरु भएको भन्दछ। अध्यारो संग लडनु भन्दा प्रकाश ल्याउन सकेमा अँध्यारो आफै हट्छ।
वैज्ञानिक रूपमा यज्ञलाई पुष्टि गर्नुपर्दा जसरी यो विशाल ब्राह्माण्ड इलेक्ट्रोन प्रोटन र न्युटर्न (तटस्थ ) उर्जाहरू मिलेर बनेको छ।त्यसरी नै सुक्ष्मातिसूक्ष्म रुपमा जाँदा सकारात्मक नकारात्मक र तटस्थ यिनै तीन उर्जा नै क्रियासिल रहेका हुन्छन् ।केन्द्र स्थापनाको लागि सकारात्मक उर्जावाट स्वतह प्रतिक्रिया स्वरुप नकारात्मक उर्जा पैदा हुनु तथा सन्तुलन राख्न तटस्थ उर्जा बन्नु उर्जाको कार्यगर्ने स्वभाविक ढङ्ग हो।यहाँभन्दा अगाडि के छ भन्ने जिज्ञासाको क्रममा वैज्ञानिक एउटा अनौठो शक्तिलाई स्विकार गर्दछन्।यो नै ईश्वर वा ब्रहम हो।अवचेतन मनलाई चेतन गराइ दैविक गुण विकास गरि भगवान प्राप्तिको पथमा अगाडि बढ्नु नै यज्ञको मुल सात्त्विक उदेश्य हुन्छ।  मानिसले यो लोक र परलोक दुवै विशुद्ध राख्नका लागि पञ्चतत्त्व पृथ्वी,जल,तेज,वायु,आकाश अर्थात पृथ्वी ,पानी,प्रकाश वायु र आकाशलाई स्वच्छ राख्नु पर्दछ। जुन कुरा यज्ञबाट सम्भव छ। हरेक बर्ष ग्रह सूर्यको चारै तर्फ जान्छन् र हामीलाई प्रभावित पार्दछन्।हरेक बर्ष यज्ञको माध्यमबाट नकारात्मक प्रभावलाई संशोधन गर्नु राम्रो हुनेछ।
म नै श्रौत र स्मार्त दुवैथरीका कर्म हुँ।म नै पितृहरुका लागि स्वधा र सम्पूर्ण प्राणीहरुका लागि अौषधी हूँ।यज्ञकालमा म नै मन्त्र हूँ,म नै ध्यू हवनीय चरु र अग्नि पनि हु।(भा.गीता ०९/१६)यसरी हेर्दा भगवान आफै यज्ञमा सामिल हुने हुदा हवनिय द्रव्य र हवन गर्ने स्थान हवन कर्ता सबै शुद्ध र सात्त्विक हुन जरुरी हुन्छ।
यस्तो यज्ञको प्रभावले हाम्रो आयु बढ्छ,प्राण बलियो हुन्छ आखाको ज्योति तेजिलो हुन्छ,सुन्ने शक्ति टड्कारो हुन्छ,हाम्रो ढाड बलियो हुन्छ,हाम्रो यज्ञ विस्तृत हुन्छ।हामी सबै ईश्वरका सन्तान(प्रिय) हुनेछम्।हामी सबै मेधावि बनेर दिव्य सुख प्राप्त गर्नेछौं र अमृत तत्त्व (परमात्मा)प्राप्त गर्नमा सफल हुनेछम्।(य.जु९/२१)
यस्तै हामी अन्तः करणदेखि पूरा मन लगाएर यज्ञको अनुष्ठान गर्दछौं।विस्तृत अन्तरिक्षका लागि यज्ञ गर्दछौं। द्युलोक र पृथ्वीलोकका लागि हामी यज्ञका कार्यहरु गर्दछौं।सवै कर्महरुको प्रेरक वायुदेवताको कृपाले हामी यज्ञ प्रारम्भ गर्दछौं।(यजुर्वेद०४/०६)यी कुराहरू केही हदसम्म विज्ञानले पनि प्रमाणित गरि सकेको छ।जस्तो कि यज्ञ भुमिको १५ किमि वरिपरिको परिधिभित्रको वातावरण शुद्ध हुन्छ।
यसरी हेर्दा यज्ञबाट जति उर्जा आउँछ,त्यति नै त्यसको प्रभाव चारैतिर फैलिन्छ।वातावरण स्वच्छ राख्न र पृथ्वीको आयु बढाउन र मानवसभ्यतालाई दिर्घ काल सम्म जोगाइराख्न यज्ञ अपरिहार्य देखिन्छ।