रुकुम पश्चिम कोरोनामुक्त, सबै निको भएर घर फर्किए

रुकुम पश्चिम कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका सबै निको भएर घर फर्किएपछि जिल्ला कोरोना संक्रमणमुक्त भएको हो । जिल्लामा हालसम्म तीन हजार आठ सय ५० जनाको पिसिआर परीक्षण गरिएकाेमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
गत असार ६ गते जिल्लामा पहिलो संक्रमित फेलापरेका थिए । अन्तिमपटक साउन ३ गते दुईजनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि जिल्लामा अहिलेसम्म कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । 
साउन ३ गते संक्रमण पुष्टि भएका बाँफिकोट ९ र १० का दुईजना बिहीबार (हिजाे) जिल्ला अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएसँगै जिल्ला कोरोना भाइरसमुक्त भएको उनको भनाइ छ । सबैभन्दा बढी चौरजहारी नगरपालिकामा २० जना संक्रमित फेलापरेका थिए । 
बाँफिकोटमा तीनजना, सानीभेरी गाउँपालिकामा दुईजना, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाको आठबिसकोट नगरपालिकामा भने हालसम्म कोरोना संक्रमित फेलापरेका छैनन् । अब जिल्लामा क्वारेन्टाइनमा एकजना मात्र व्यक्ति रहेको बताइएको छ । 
चौरजहारीको क्वारेन्टाइनमा एकजना व्यक्ति मात्र रहेको र अन्य केही व्यक्ति होम क्वारेन्टाइनमा रहेको फोकल पर्सन रावलको भनाइ छ । होम क्वारेन्टाइनमा रहेका करिब ५० जना व्यक्तिको स्वाब परीक्षणका लागि जिल्लाको चौरजहारीमा रहेको प्रयोगशालामा पठाइएको छ । इमेजखबरमा समाचार छ ।