पक्राउ परेका जुवाडेको सम्पर्कमा रहेका सात जनामा कोरोना सङ्क्रमण

अर्जुन काफ्ले गोरखापत्र 
स्याङ्जा, साउन २१ गते । कारोनाको महामारीमा स्याङ्जामा समुदायका दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ ।
 साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले छ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टि भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पूरा गरेर छोडिएको थियो । प्रहरीबाट छुटेर घर पुगेका युवाकाे पीसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको थियो ।
युवामा कोरोना सङक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण प्रमाणित भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफलेले बताउनुभयो ।
युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाइ र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीन जना गाउँले रहेका छन् । पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगेपनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यहाँ क्वारेन्टाइनबाहिरका सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चालक, सरसफाइकर्मी, प्रहरी परिवार, भान्से र स्थानीय गरी ५९ जना समुदायका नागरिकमा कोरोना सङक्रमण देखिएको छ ।