लमजुङमा ११ लाख ४७ हजार रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ

शान्ता कमली नयाँपत्रीका 
जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा नगद ११ लाख  ४७ हजार आठ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका– १ जिता सरेदीस्थित सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार दिउँसो ४ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।
उनका अनुसार जुवातास खेल्ने–खेलाउने गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । डिएसपी गंगाबहादुर थापाको कमान्डमा गएको प्रहरी टोलीले नगद ११ लाख ४७ हजार आठ सय ४२ रुपैयाँ पनि बरामद गरेको छ । 
प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा सुन्दरबजार नगरपालिका– ९ का ५० वर्षीय रामबहादुर गुरुङ, सुनपा– ७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, सुनपा– ४ बस्ने ३९ वर्षीय देव दोङ, सुनपा– ९ का  ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कुलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै मध्यनेपाल नगरपालिका– ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ आबुखैरेनी– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्कीस्थित रूपा गाउँपालिका– ७ का रामबाबु भट्टराई, गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय  आकाश तामाङ  र तनहुँ व्यास– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारीलाई जुवाखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता सूचना अधिकारी इन्स्पेक्टर ओमप्रकाश पुनले बताए । 
उनीहरूलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा तथा सट्टेबाजी गरेको र गराएको अपराधमा कारबाही गरिने प्रहरीले जनाएको छ ।