खोसिएको तिहारको खुशी

२०७७ म‌सिर १ , सोमबारमा प्रकासित

शोभाखर पन्थी 
सन्धिखर्क/मंसिर  १ । चाडपर्व मध्ये मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो । बाल्यकालमा तिहारमा भैलो खेल्ने र रोटी खानुको मजा नै अर्कै थियो ।
 दिदी लामो समय भारत सिलाङमा रहनु भएकोले मैले जान्दा देखिनै  फुपू जिबित रहुन्जेल सम्म उहाँको हात बाट  भाईटीका लगाए। 
फुपुको हात बाट टीका लगाउने म एक्लो भने थिईन । बुवाहरु ४ भाई मध्ये मैले नजान्दै माईला बुवाको निधन भईसकेकोले उहाँहरु ३ भाइ, हामी ४ भाई ,माईला बुवाका छोरा एक भाई, साईला बुवाका छोरा ४ भाइ समेत १२ जनाले सँगै टीका लगाउँथ्यौं । कुनैकुनै बर्ष त गाउँका अरु दाईहरु र आमा तथा भाउजुहरु थपिंदा हामी करिव २० जना पनि हुन्थ्यो । फूपू दिदीको घर बाजाखर्क थियो । हाम्रो घर हंसपुर ठाढुङा बाट बाजा खर्क जान झण्डै  आधा घण्टा लाग्थ्यो । फर्कदा उकालो भएकोले ४५ मिनेट हिड्नु पर्थ्यो । तर पनि हामी भाइ टीका लगाउन दिदीको घरमै जान्थ्यौ । टिकाको दिन दिदीको घरमा निक्कै ठुलो भिडभाड हुन्थ्यो । हामी घरभित्र नअटेर दलानमा बसेर टीका लगाउने गर्थ्यौ । दिदी लाई धेरै जना लाई व्यवस्थान गर्दा धेरै असहज हुन्थ्यो होला तर पनि उहाँ निक्कै खुसि प्रफुल्ल देखिनु हुन्थ्यो । फुपुदिदी कान्छी हुनुहुन्थ्यो । हामीले फुपू नभनेर सबैले कान्छी दिदी भन्थ्यौ । कान्छी दिदी निक्कै सालिन,भद्र ,दयालु र परोपकारी हुनुहुन्थ्यो । माईति भनेपछि उहाँ निक्कै हुरुक्क हुनुहुन्थ्यो । ठाढुङ्गा बस्ने करीब २०/२२ परिवारका द्वारे,काउछे लगायतका ठाउँमा खेत थिए । खेत जाने र फर्कने बाटोमा दिदीको घर थियो । दिदीले सबैलाई माया गर्नु हुन्थ्यो ।  खेतमा जाँदा र फर्कदा सबैजना दिदीको घरमा बस्ने मोहि पानी ,खाजा समेत खाने गर्दथे । माईति घरमा जाँदा दिदी निक्कै खुसि हुनुहुन्थ्यो । कहिलेकाही त पाहुनाको लागि खाजा बनाउँदा नै दिदीको दिन बित्थ्यो । दिदीको घरमा बनाउने फापर र कोदोको रोटीको मज्जा नै अर्कै थियो त्यसमाथि टिमुर र अदुवा राखेको बाईभेंडाको चटनी  संझदा पनि मुख रसाउने। अनि महको चाका पनि ।
 फुपू दिदीको स्वर्गारोहण पछि हाम्रो तिहार करिव करिव सकिएको थियो । हाम्रो एक मात्र दिदी सिलाङ बाट बसाइँसराइ गरेर रुपन्देही आउनु भयो । उहाँ रुपन्देही आए सँगै हामी ४ भाइ र साईलो बुवाका छोरा दाजुहरु ४ भाई समेत गरि ८ भाईले सँगसँगै टीका लगाउन थाल्यौं । दिदीको वास्तविक नाम के थियो मलाई थाहा भएन तर हामी दिदी लाई शुन्तली दिदी भन्थ्यौं । दिदीमा पनि फूपू दिदीको सबै गुण सरेको थियो । भाईहरु लाई तिहारमा बोलाउने र धुमधाम सँग तिहार मनाउँदा उहाँले निक्कै रमाइलो मान्नु हुन्थ्यो । हामी ८ भईको बसाइँ एकै ठाउँ छैन । दशैं र अरु चाडपर्वमा हामी चाहेर पनि सबै जनाको भेटघाट संभव थिएन । तर तिहारमा सबैजनाले एक साथ टीका लगाउँदा हामी सबै भाईहरु एकैसाथ हुन्थ्यो । हामी सबैका अलगअलग पेशा र व्यवसाय भएकाले पेशा व्यवसायको अवस्था ,अनुभव साटासाट ,सन्चो बिसन्चो र थोरै राजनीतिका बारेमा पनि छलफल हुन्थ्यो । हामी ८ भाई , ६ भाइ भान्जहरु तथा भाउजु बुहारीहरुको समेत जमघटले दिदीको घर भरीभराउ हुन्थ्यो । हामीले तिहार लाई भेटघाटको माध्यम पनि बनाएका थियौं ।हामीले  तिहारमा मन लागेको मीठो खाने रमाइला रमाइला कुरा गर्ने ,दु:ख सुख साटासाट गर्ने गरे पनि जुगातास लाई कहिल्यै महत्व दिएनौं । तिहारमा म सधै अगिल्लो दिन दिदीको घरमा जान्थे । तिहारको पर्सिपल्ट फर्कन्थे अरु दाईहरुले  पनि घरको फुर्सद हेरेर त्यसै गर्नु हुन्थ्यो । अघिल्लो बर्ष घरायसी व्यस्तताका कारण म तिहारको दिन बिहान गएँ र साँझ पर्किएँ । तत्कालीन प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल ज्यु, नवलपरासी टीका लगाउन जानुपर्ने भएकोले उहाँ सँगै जाने र फर्कने अबसर मिल्यो । बिजय सर प्रमुख जिल्ला अधिकारी भए पनि निक्कै रमाइलो मान्छे बाटोमा गए आएको पत्तै भएको थिएन । भाइ कान्छो यमलाल बिदेश भएकाले तिहारमा आउन नपाए पनि हामी ७ भाइ र भान्जहरुले रमाइलो सँग तिहार मनायौं । दिदीले बस्न धेरै कर गर्दा पनि म साँझ बस्न पाईन । अर्को बर्षको तिहारमा एक दुईदिन सँगै बस्ने सल्लाह गर्दै हामी सबै भाईहरु आ आफ्नो गन्तव्यमा लाग्यौं ।
 तर बिडम्वना केही महिनामै  हाम्रो खुसि खोसियो दिदी कहिले नफर्कने गरि यो संसार छोडेर जानुभयो । बाल्यकाल देखिको हाम्रो सबैभन्दा  रमाइलो चाड तिहार त सकियो नै दिदीको ममता समेत सदाको निम्ति गुमाउनुपरेको छ । यस बर्ष हामीले दिदीको स्मरणमा चाडपर्व मनाएनौं । छोरा नवीन पन्थीले पनि फुपू दिदीको स्मरणमा यसबर्ष टीका नलगाउने सल्लाह भयो । फेरि यसैबर्ष साना वुवाको निधन ,कोरोना भाईरसको महामारीका कारण यसैपनि  मनमा खुसि थिएन । 
दिदी हजुर यो संसारमा नभए पनि हाम्रो स्मरणमा सधैब जिबन्त रहिरहनु हुनेछ । हार्दिक श्रद्धाञ्जली दिदी ।