चैत ११ देखि बन्द रहेका फिल्म हल पनि सरकारले अहिलेसम्म खोल्न दिएको छैन । पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको भन्दै नेपाल चलचित्र संघले पुस १० बाट देशभरका फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘सरकारलाई धेरै पटक फिल्म हल खोल्न माग गर्दै ज्ञापन बुझायौं तर सुनुवाइ भएन,’ संघका उपमहासचिव गोपालकाजी कायस्थले भने, ‘सबै क्षेत्र खुलिसके, हाम्रो क्षेत्रलाई मात्र किन बन्द गरेर राखिराख्नुपर्ने ? अब स्वास्थ्य मापदण्ड अपनाएर फिल्म हल खोल्छौं ।’ हल बन्द भए पनि विद्युत् महसुल, कर र जरिवाना तिरिरहेकाले ती शुल्क मिनाहा गर्नुपर्ने माग पनि आफूहरूको रहेको उनले बताए ।
फिल्म छायांकनका लागि बाटो खुला भइसकेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । ‘फिल्म हल खोल्ने बारेको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेकाले केही दिनमै निर्णय हुनेछ,’ उनले भने, ‘अब धेरै समय नलाग्ला ।’ यसबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सकारात्मक रहेको उनको दाबी छ । कान्तिपुरमा समाचार छ ।