बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्य अघि बढ्छ : उर्जा मन्त्री रायमाझी

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौँ २० माघ  । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री  टोपबहादुर रायमाझीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्यलाई अघि बढाइने बताउनु भएको छ ।
मन्त्रालयमा आयोजित  बुढी गण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिहरुसँगको छलफलमा मन्त्री रायमाझीले आफूले अघिल्लो पटक उर्जा मन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको भन्दै अब छिट्टै शिलान्यास गरि निर्माण कार्य  बताउनुभयो । 
उहाँले तत्कालिन समयमा  आफू पटक– पटक  निर्माण स्थलमै गई विभिन्न समस्या तथा अल्झन हटाउने कार्यमा जुटेको भएपनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो । “अघिल्लो पटक पनि केपि ओली प्रधानमन्त्री र म उर्जा मन्त्री थिएँ” उहाँले भन्नुभयो” संयोगले अहिले हामी एउटै जिम्मेबारीमा छौँ, अब आयोजना निर्माणको काम अघि बढ्छ ।” उहाँले आयोजना निर्माणको रिपोर्ट लिन दुई÷ चार दिन भित्रै कम्पनीका प्रतिनिधिहरलाई मन्त्रालयमा बोलाउने जानकारी दिनुभयो । 
उहाँले विभिन्न जलविद्युत आयोजनाको निर्माण कार्यहरु चलिरहेको भन्दै मुलुक अब विद्युत बिक्री गर्ने अवस्थामा पुगेको बताउनुभयो । “उत्पादन भएको विद्युत बिक्री गर्न ठाउँ÷ठाउँमा ट्रान्समिसनलाईन निर्माण गर्नुपर्छ” उहाँले भन्नुभयो, “अन्तरदेशीय कनेक्टीभिटीलाई विस्तार गर्न नसके उत्पादन भएको विद्युत यसै खेर जाने निश्चित छ ।” मन्त्री रायमाझीले आफू अघिल्लो पटक उर्जा मन्त्री हुँदा उर्जा संकट निवारणका लागि ९९ वुँदे कार्ययोजना बनाई लागू गरेकै कारण लोडसेडिङ्को अन्त्य संभव भएको बताउनुभयो ।
बुढी गण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी र लाभ कर लिँदा स्थानीयले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकर बिना जग्गाको मुआव्जा दिनुपर्ने बताउनुभयो । उहाँले जलविद्युत आयोजनाको  निर्माण कार्य अघि नबढ्दा जनता प्रताडित बनरिहेको भन्दै जग्गाको मूल्यांकन पनि निकै कम भएको बताउनुभयो ।
 १२ सय मेगावाटको आयोजना निर्माणका लागि करिव ४० अर्व रुपैयाँ सङ्कलन भइसकेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गरेको घरजग्गा वापत सरकारले ३४ अर्व रुपैयाँ प्रभावित क्षेत्रका नागरिकलाई वितरण गरेको छ ।