वरिष्ठ गायक प्रेमध्वज प्रधानको न्युरोसम्बन्धी समस्याका कारण निधन


वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्युरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्युरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा निधन भएको परिवारले पुष्टि गरेको छ । 
उनको उपचारको क्रममा बिहीबार दिउँसो निधन भएको हो । ‘न्युरोसम्बन्धी समस्याका कारण उहाँको निधन भएको हो,’ संगीतकार लक्ष्मण शेषले भने।
प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत गीत प्रसिद्ध छन् ।
सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा  पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो । नयाँपत्रीकामा समाचार छ ।