शान्ता कमली नयाँपत्रीका
हिमाली जिल्ला मनाङमा १८ वर्ष माथिका चार हजार एक सय ९८ जना नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने योग्य नागरिकको संख्या चार हजार पाँच सय अनुमान गरे पनि चार हजार एक सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड छ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालय मनाङका अनुसार मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६ जना, जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ जना र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन्। मनाङ जिल्ला घर भई जिल्लाबाहिर रहेका नागरिक खोप लगाउन आएमा उनीहरूलाई खोप लगाउने व्यवस्थासमेत स्वास्थ्य कार्यालय मनाङले मिलाएको छ।
मनाङमा चार हजार पाँच सय नागरिक खोप लगाउन योग्य भए पनि केही मानिस जिल्लाबाहिर बस्ने, रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या चार हजार एक सय ९८ भएको आचार्यले बताए। उनका अनुसार मनाङमा कोभिसिल्डको पहिलो डोज लगाएका एक सय ६५ जना भने दोस्रो डोज खोप लगाउन बाँकी छन्। पर्यटकको प्रमुख गन्तव्य मानिने मनाङमा आउने खोप नलगाएका पर्यटकले खोप लगाउन चाहे स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने व्यवस्था मिलाउने आचार्यले बताए।
असार १ को बाढीले मनाङमा मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सडक, पुलमा क्षति पुगेकाले कोरोनाविरुद्धको खोप अभियानसमेत प्रभावित भएको थियो। सरकारले मनाङ जिल्लालाई बाढी संकटग्रस्त जिल्लासमेत घोषणा गरेको छ। मनाङमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्वको खोप अभियान सञ्चालन गरिएको थियो।