२०७८ मसिर २५, शनिवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा रहेको साना किसान कृषि सहकारी संस्था लि . बाहिर देख्दा बिकसित र ब्यबस्थित देखिए पनि आन्तरिक रुपमा प्रक्रिया पुर्याएर बेथितिमा रुमलिएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
साबिक खाँचीकोटका सम्पुर्ण स्थान र सन्धिखर्क नगरपालिका भर कार्य क्षेत्र रहेको यस कृषि सहकारी सस्थांले हालै मंसिर १२ देखि २२ गतेसम्म टोल-टोलमा गएर अन्तरसमुह स्तरमा साधारण सभा तथा छैठौ अधिवेशन गरेको छ । उक्त कार्यक्रममा नयाँ अन्तरसमुह गठनसँगै प्रत्येक अन्तरसमुहबाट एक जना संचालक समिती सदस्य र लेखा समिती सदस्य निर्वाचित गरेको थियो । यसरी निर्वाचित सदस्यहरु र अथितिहरुको बिचमा पुस ७ गते अन्तिम कार्यक्रम गरिने पनि सानाकिसानले जनाएको छ ।
गत मंसिर २२ गते ज्ञवालीटोलामा सम्पन्न गरिएको अन्तरसमुह स्तरको साधारणसभामा पनि त्यस्तै दृश्य देखियो । अन्तरसमुह नम्बर ६ को तर्फबाट संचालक समितिमा जाने सदस्यका आकांक्षी धेरै देखिएपछि सहमतिका नाममा राजनितीकरण भएको आरोप लागेको छ ।
सदस्य चयनको क्रममा एउटा समुहले सानाकिसानको समितिमा एमालेकरण भएको आरोप लगाउदै संचालक समिति सदस्यकी उमेदवार आरता टण्डन के.सीको समुहले बहिस्कार गरेर हिडेको छ । तर उक्त समुहले बहिस्कार गरेपनि बाँकी रहेकाले बहुमतको आधारमा सन्चालक समिती सदस्यमा नेत्र के . सी . र लेखा समितिमा खिमानन्द आचार्यलाई चयन गरेको छ ।
आफू र आफ्नो समूह असन्तुष्ट भै बहिस्कारमा उत्रिएपनि बहुमतको प्रक्रियाका नाममा गलत कार्य गरेको आरोप संचालक समिती सदस्य उमेदवार आरताले लगाएकी छन् । सानाकिसानको बर्तमान समितिले एमालेको बहुमत पुर्याउन तथा राजनितिक रुपमा आफ्ना मान्छेहरु स्थापित गर्ने उदेस्यले साबिकको ४ नम्बर वार्डका समुहरुलाई फुटालेर ६ नम्बरमा मिसाएको आरोप पनि टण्डनले लगाएकी छिन् ।
साधारणसभाका क्रममा पनि सहभागीहरुले कुनै प्रश्न तथा जिज्ञासा नराख्नु पनि बेथिती गर्नेहरुलाइ हौसला पुगेको उनले प्रष्ट पारिन् । सभामा प्रस्तुत प्रतिवेदनका आधारमा हेर्दा सहकारीले आयमुलक क्षेत्र भन्दा पनि पहुचका क्षेत्रमा लगानी गरेको देखिएको छ । खासै प्रगती नगरेको मह उधोगमा शेयर लगानी गर्नु, किसानलाई सहज र सहुलियतका लागि किनिएको बोलेरो जिप ब्यक्तिलाई ठेक्कामा लगाउनु जस्ता कार्यहरुले संस्थालाई तथ्यांक अनुसार लाभ देखाएता पनि ग्रामिण स्तरका किसानहरुले महसुस नगरेको बताएका छन् ।
यता साना किसानले सस्तो ब्याजदरमा दिने ऋण पनि आफन्त र पार्टी हेरेर लगानी गर्ने गरेको गुनासो पनि आएको छ भने ब्याजदरमा लिने जरिवानामा पनि एकरुपता नभएको आरोप लागेको छ ।




