संसारकै महत्वपुर्ण र ऐतिहासिक स्थल पाणिनी तपोभुमि ओझेलमा

माधब पौडेल 
 
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । संस्कृत व्याकरणको रचना भएको पाणिनी तपोभुमि ओझेलमा परेको छ ।
पाणिनि तपोभुमी
अर्घाखाँची  जिल्लाको पाणिनी गाउँपालिका १ पणेना मा अबस्थित तपोभुमीमा राज्यले करौडौ रुपैँया खर्च गरेपनी   पर्यटक आगमनमा वृद्धि भएको छैन । स्थानिय, प्रदेश र संघीय सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गरेपनि पाणिनी तपोभुमि ओझेलमा परेको छ । तपोभुमिमा गएको ४ वर्षयता करिब ५ करोड रुपैँया तिनवटै सरकारबाट विनियोजन भएको छ ।
पाणिनी तपोभुमि देशका १०० औ  धार्मिक तथा पर्यटकीय स्थलमध्येमा छनोट भएको छ  ।
 
हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।
पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ । 
पाणिनी तपोभुमिमा करौडौ रुपियाँ खर्चिएर तिनगिरेबारे तपोभुमिसम्म जाने सडक पनि पिचँ गरिएको छ । दह वरीपरी संरचना थप पनि गरिएको छ । तर तपोभुमी दहको स्तरोन्नती भएतापनि पर्यटक आगमन वृद्धि भएको छैन । तपोभुमि दह लेकमा केबुलकारको व्यवस्था गर्नुपर्ने देखिन्छ । पाणिनी तपोभुमि दह नजिक बस्ने व्यवस्था,  खानेपानीको व्यवस्था हुने गरेमा पर्यटकहरु आगमनमा वृद्धि हुने स्थानिय बिष्णुभक्त पोखरेल बताउनु हुन्छ ।
पाणिनी तपोभूमि संरक्षणका लागि पाणिनी गाउँपालिकाले पनि ध्यान दिएको छ । पर्यटकहरुलाई बस्ने व्यवस्था, खानेपानीको समस्या समाधान गरेपछि पर्यटक आगमनमा वृद्धि हुने गाउँपालिका अध्यक्ष  टेकराज न्यौपानेले   बताउनु हुन्छ ।
तपोभूमिमाथि डाँडाबाट उत्तर फर्कंदा हिमालयका हिम शृङ्खला, दक्षिणतर्फ तराईका फाँट अनि कालिज, चित्त लगायतका पंछीहरू देख्न सकिन्छ  । अर्घाखाँचीको पोखराथोक र पाल्पाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । पाणिनी ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएकोे भन्ने विभिन्न प्रमाण भएको संस्कृतविज्ञ बताउँछन् ।
हाल सो ठाउँमा एउटा पोखरी निर्माण गरिएको छ । त्यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा छन् । तपोभुमि दहमा रहेका मठमन्दिरको संरक्षण गर्ने, खानेपानीको व्यवस्था सहित बस्ने व्यवस्था मिलाउँन सके मात्रै तपोभुमिमा पर्यटक आगमनमा वृद्धि हुन्छ।

अन्य समाचारहरु