शितगंगा नगरपालिकाले “मौवाको रक्सीलाई ब्रान्ड” बनाउने नीति तथा कार्यक्रममा समावेश ।

 
बिरेन्द्र के .सी  
 अर्घाखाँचीको शितगंगा नगरपालिकाले मौवाको रक्सीलाई ब्रान्ड बनाउन नीति तथा कार्यक्रममा समावेश गरेको छ । मौवाको रुखमा फुल्ने फूललाई बटुलेर शितगंगाको सिद्धारा, जलुके, सिमलपानीलगायतका गाउँमा मगर समुदायले घरेलु मदिरा बनाउने गर्छन् । त्यसलाई अब नगरपालिकाले ब्रान्डिङ गर्ने भएको हो ।
पहिलो चरणमा नगरभित्र मौवाका बोट कति छन्, मदिरा उत्पादनको अवस्था र सम्भाव्यता अध्ययन गरेर छिट्टै ऐन कानुन बनाएर मौवाको रक्सीलाई ब्रान्डिङ गर्ने गरी नीति कार्यक्रम पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए । घरेलु मदिरलाई ब्रान्डिङ गर्ने, उद्योगको रुपमा विकास गर्दै व्यावसायिक बनाउने यसको लक्ष्य भएको उनले बताए । ‘अहिले नीति कार्यक्रममा पारित गर्‍यौं, अब तत्कालै अध्ययन गर्छौं, त्यसपछि मौवाको मदिरा ब्रान्डिङ गरेर युवालाई स्वरोजगार बनाउने लक्ष्य हो,’ उनले भने, ‘यसमा सबै जनप्रतिनिधिको सर्वसम्मत समर्थन छ । स्थानीय मदिरालाई ब्रान्डिङ गरेर कानुनी मान्यता दिने उद्देश्य हो ।’
क्षेत्रफलका हिसाबले देशकै ठूलो नगर शितगंगामा बस्तीभन्दा धेरै जंगल छ । घरहरू छरिएर रहेका छन् । जंगलमा मौवाका रुख प्रशस्त छन् । नगरपालिकाले मौवा खेतीलाई व्यवस्थित रुपमा विस्तार गर्ने भएको हो । फूलको अर्गानिक भन्दै ठूला सहरबाट मौवाको रक्सी माग हुने गरेको छ । गाउँलेले खुसी पार्न सहरमा मौवाको रक्सी उपहार स्वरुप पठाइदिने गर्छन् । 

अन्य समाचारहरु