त्यो बेलाको दशैँ …..

– माया पोख्रेल 
पाणिनी -१ अर्घाखाँची
मझेरिको अँध्यारो कुनामा आमाले छरेका जमरा सँगै टुसाउँथ्यो दशैँको खुसी ।
दशैको लागि सरसामानको जोहो गर्न भन्दै फुरुङ्ग मन अनि जतन गरेको धन आस्कोटको खल्तिमा पोको पारेर बा बजार पस्दा 
हलहलाउँथ्यो दशैको रौनक ।
१५ दिनको स्कुले बिदा
फुक्काफाल जिन्दगी 
चङ्गा त के उड्थ्यो र आकाशमा 
यो मन उड्थ्यो खुशिले माथी माथी
सबेरै उठेर गाउँका एक हुल मानिस 
घर पोत्न रातो माटो र कमेरो लिन भन्दै तातिएर हिड्थे ,
गएकाहरु माटोको भारी बोकेर फर्किदा दशैँ बोकेर ल्याएजस्तो लाग्थ्यो । 
दिदिहरुले रमाउँदै सेतो कमेरो र रातो माटोले घर लिपेर चिटिक्क पार्दा 
यो मनमा हर्षका हजारौं रङ पोतिए जस्तै लाग्थ्यो ।
पिढिमा सधै बज्ने रैथाने रेडियोले “नमुछे आमा दहिमा टीका नछरे जमरा” भन्ने गित बजाउँदा सारा सन्तान काखैमा ,शिरका स्वामी साथैमा भएकी मेरि आमा पनि खोइ किन हो बर्सेनि अनायसै गहभरी आँसु ल्याउथिन सायद आमालाई आफ्ना मुग्लानी दाजुभाईको झल्को लाउँदो हो क्यारे ….
मलाई आमाको रुवाईबारे त्यति ज्ञान् नभएपनी आमासँगै अँध्यारो मुख लगाएर नतमस्तक भएर सुनिरहन्थेँ
त्यो क्षणिक उदासिनता भित्र पनि यो मेरो बच्पने मनले सधै दशैँ नै भेटाउथ्यो ।
डबल क्यासेट लाग्ने लामो टेपरिकट घन्काउँदै झोलाभरी रहर ,आशा र उमंग बोकेर मुग्लानिहरु फर्किदा कम्ता बिशेष लाग्दैन्थ्यो दशैको आगमन ,
गाउँघरको यादमा मुर्छित हुँदै रोजिरोटिका लागि शहरलाई कृत्रिम प्यार गरेका शहरियाहरु
मान्छेलाई मेशिन बनाउने शहरको कोलाहल र होहल्ला बाट उछिट्टिएर गाउँमा पाइला राख्दा चुलिदै जान्थ्यो 
चहलपहलको हिमाल ,
हार्दिकताको पहाड 
बाटोघाटो सरसफाइ हुन्थे 
खेतभरी लहलह धानका बाला झुल्दा दशैँले दैलो अगाडि आएर अभिवादन गरेजस्तो लाग्थ्यो ।
घरहरु बेहुली जस्तै चिटिक्क हुन्थे 
चौरमा मच्चिन्ने लिङ्गे पिङसँगै भुँई छोड्थे खुशिहरुले पनि ।
खसी खोज्ने चटारो ,काटकुट र भागबन्डा 
शरद ॠतुको मौसम र खोलाको पौडी
कहाँ शरीर मात्रै पौडिन्थे र पौडिन्थे 
गाउँघरको यादमा मुर्छित मनहरु पनि 
“लाहुरेका दुख र संघर्षका अनुभुती”
“शहरियाको हतारो र दौडधुपका कथा अनि गाउँघरका परिवेश” एकै गन्तव्यमा मिसिएपछी त्यही त्रीवेणिमा डुबुल्की मार्थ्यो दशैँले ।
बर्सौँदेखी टाढिएकाहरु 
बाध्यताले बिदेशिएकाहरु
शहरतिर भविस्य खोज्ने चक्करमा भासिएकाहरु एउटै परिवेशमा जमघट भएर मान्यजनबाट टीका ग्रहण गर्दा मेरो चञ्चले मन बच्पने ज्यान पनि बा ले दशैलाई भनेर किनिदिएको फुर्के जामा लगाएर फुरुक्क पर्दै टीका थाप्न तयार हुन्थ्यो । टीका लगाउँदा बा ले ठुली भएस डाक्टर भएस भन्दै आशीर्वाद दिँदा डाक्टर हुने सौख नै नभएको यो मनमा म त डाक्टर नै बन्नुपर्छ भन्दै अबोध सपनाले डेरा जमाउथ्यो …त्यही डाक्टर भएस भन्ने आशीर्वाद बच्चैदेखी मनस्पटलमा कैद भएर होला पछिसम्म पनि कसैले ठूलो भएर के बन्ने? भन्दा हतारिँदै म त डाक्टर बन्ने भनिन्थ्यो जब कि सपनाहरू के हुन् ,कस्ता हुन्छन् कसरी पूरा गर्ने ,मेरो चाहना के हो बारे केही अवगत नै थिएन ।
उमेर बढ्दै जाँदा जिन्दगीले फरक मोड लियो ,छुट्टै बाटो रोजियो डाक्टर भएस भन्ने आशीर्वाद आशीर्वादमै सिमित रह्यो । तर अझैपनी गुञ्जायमान हुन्छन् ती उपदेश र आशिर्वादहरु ।
गोजि भरिन्थे दक्षिणाले 
मन भरिन्थ्यो आशीर्वादले अनि पेट भरिन्थ्यो सेलरोटीले
त्यो एकदिनको दशैँ नबितोस
दिनदिनै दशैँ आईरहोस जस्तो लाग्थ्यो । दशैँको टीका ,जमरा र सेलरोटी सँगै हार्दिकता साटेर मान्यजनका आशीर्वाद पोको पार्दै लाहुरे लाहुर फर्किन्थे ,शहरियाहरु सहर फर्किन्थे 
निर्जीव र अकिन्चन सहरमा आफ्ना दैनिकी भेट्टाउन ।
सकिन्थ्यो दशैँ तर त्यो दशैँ आउदा आउने उमंग सम्झेर बर्सैभरी मन तरंगित हुन्थ्यो ।
“बास्तबमै त्यो दशैँ पो दशैँ जस्तो थियोे ।”
दशैँ अहिले पनि आयो तर आएन त्यो खुशी ,त्यो उल्लास ,त्यो हर्ष ,त्यो चहलपहल 
न मुग्लानिहरु गाउँ पस्दा उमंग छायो
न शहरियाहरु फर्किँदा रौनक छायो
आफ्नो आफ्नो दुनियाँ र पारिवारिक माहोलमा रुमलिएर हो कि कुन्नी चिसिदै गए ती गाउँलेका जमघट ,हार्दिकता र दुख सुखका भलाकुसारिहरु ।
शृङ्गारिएका घरहरु देखेर पनि मनले खुशिका अनेक बुट्टा भर्न सकेन ,केवल औपचारिकता निभाउन मात्रै दशैँ आएजस्तो लाग्छ । कहाँ गए गए ती बच्पनका सखी ,कोहि घरबारे भए कोहि प्रबासी भए 
अहिले आफ्नै घरमा आफु पाहुना बनेर आउँदा रित्तो महसुस हुन्छ ,खल्लो महसुस हुन्छ के नपुगेजस्तो लाग्छ सबै कुरा पुग्दापुग्दै पनि ।
अनेकन अभावको बिचमा पनि प्रसन्न मन लिएर मानिने त्यो दशैँ बेग्लै थियोे अहिले सबैकुरामा सम्पन्न हुँदापनी मन प्रसन्न छैन ।
बर्सैपिच्छे दशैँ फर्केर आयो तर कहिल्यै फर्केर आएनन् ती बालापनका जस्ता दशैमय खुशिहरु ,
हाँसिरहेका चेहरा भित्र पनि कहिँ कतै दुख सल्बलाएजस्तो लाग्छ , हरेकको अनुहारमा हेर्दा केही न केहिको बोझ ले थिचेजस्तो लाग्छ ।
उमेर बढ्दै जाँदा रहर घट्दै जाने यो कस्तो प्रवृत्ति हो बुझ्नै सकिएन ।
रमाइलो नभएको हो कि
रमाउन नजानिएको हो 
मेसै पाउन सकिएन ।
अहिले न ठुली भएस भन्दै आशीर्वाद दिने बा रहे ,न त्यो बच्पन रह्यो 
न दशैले खुशी ल्यायो
न मन रमाउन सक्यो
नामको मात्रै दशैँ आयो
आएन त्यो ” दशैँजस्तो दशैँ ” ।
बडादशैँ २०७९ सालको पावन अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।।