नवौं राष्ट्रिय खेलकुद , आर्मीका दीपकलाई १० हजार मिटरमा कीर्तिमानी स्वर्ण

– रासस 
कास्की I नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नु भएको छ । 
पोखरा रङ्गशालामा आइतबार भएको दौडमा दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण हात पार्नु भएको हो । 
दीपकले एपीएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गर्नु भएको छ । यस अघि गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो ।
सोही स्पर्धामा गोपी चन्द पार्कीले रजत पदकमा चित्त बुझाए। उहाँले निर्धारित दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गर्नु भयो । 
तेस्रो आर्मीकै गजेन्द्र राई हुनु भयो । उहाँले  निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गर्नु भएको थियो ।