मताधिकार प्रयोग गर्न सबै मतदातालाई निर्वाचन आयोगको आग्रह

 

काठमाडौँ । निर्वाचन आयोगले उल्लासका साथ मतदान कार्यमा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेको छ ।

आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी भोलि मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान कार्यमा भाग लिई आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको प्रयोग गर्न सबै मतदातालाई आह्वान गर्नुभयो ।

election

प्रमुख आयुक्त थपलियाले स्वच्छ,स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण तयारीहरू पुरा भएको र निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली, सुरक्षाकर्मी तथा मतदानमा खटिएका कर्मचारी मार्फत निरन्तर अनुगमन भइरहेको बताउनुभयो ।

यस्तै आयोगले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्राप्त सूचनालाई समेत जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

images

election

प्रमुख आयुक्त थपलियाले मतदान कार्यमा अवरोध गर्ने वा निर्वाचन बिथोल्न खोज्ने जो–कोहीलाई तत्काल नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न मतदान कार्यमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिइसकेको बताउनुभयो ।

images

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन तथा निर्वाचन पर्यवेक्षक, अनुगमन कर्ता, सञ्चारकर्मी लगायतका सवारी साधनलाई स्वीकृति लिन नपर्ने व्यवस्था गरेको उल्लेख गर्नुहुँदै निर्वाचनको स्वच्छता र निष्पक्षता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी सवारी आवागमनको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी तथा सम्वन्द्ध निकायलाई आग्रह समेत गर्नुभयो ।

images