
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताएका हुन् ।

२८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताए ।

प्रधानमन्त्री दाहालले सबै संस्कृिलाई समान रूपमा हेर्नुपर्ने बताए । उनले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एंव वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन् । तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदैछन्। मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

विश्वमा प्रचलित सभ्यताहरूको संगमस्थल नेपाल रहेको दाहालको भनाइ थियो । ‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ उनले भने,’यहाँ बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रितिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’
ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो रहेको दाहालको भनाइ थियो ।



