लोप हुँदै गएको कुमाल समुदायको पेसाको संरक्षणमा पहल सुरु

 

-रमेश विश्वकर्मा

गुल्मी । कुमाल समुदायको पेसा संरक्षणका लागि पहल सुरु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–६, अमरपुर बुल्मचौरमा “औद्योगिक लगानी पूर्वाधार, समृद्धको बलियो आधार” भन्ने मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्रमा तीन महिने तालिम सुरु गरिएको हो ।

Pottery making at Bhaktapur Durbar Square. - Picture of Lovely Nepal Tours  & Travels, Kathmandu - Tripadvisor

पछिल्लो समय प्लाष्टिकबाट निर्माण भएका भाँडा चलन–चल्तीमा आएको हुँदा कुमाल समुदायले माटोबाट बनाएका सामग्री तथा पेसाको संरक्षण गर्न आगामी वैशाख १० गतेसम्म लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सेरामिक ग्यालेज तथा माटाका भाँडा बनाउने तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । परम्परागत शैलीमा कुमाल समुदायले निर्माण गरेका नेपाली संस्कृति झल्काउने भाँडा निर्माण गर्दै पेसाको संरक्षण गर्न आर्थिक वर्ष २०७९-०८० मा लुम्बिनी प्रदेश सरकारबाट ३० लाख बजेट विनियोजन भएको छ ।

नेपाल सरकारका पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा। दामोदर भुसालको पहलमा वि.सं‍‍.२०७१ सालमा नेपालमै पहिलो सेरामिक वस्तु विकास केन्द्रको स्थापना गरिएको थियो । वस्तु विकास केन्द्रले स्थापनाकाल देखि नेपाली कलाको पहिचान भर्दै संस्कृति झल्काउने माटाका सामाग्री निर्माण, युवालाई स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । तालिमको सदुपयोग गरी कुमाल समुदायको पेसाको संरक्षण गरी सबै नव उद्यमी बन्नुपर्ने तालिमका प्रशिक्षक पदम मुखियाले बताउनुभयो ।

लुम्बिनी प्रदेश गौतमबद्धको जन्मथलो भएकाले माटोबाट बुद्धको मूर्ति निर्माण गरेर अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन सकेमा प्रदेशको पहिचान हुने र कुमाल समुदायको कला र मौलिकता झल्कने पूर्व लुम्बिनी प्रदेश योजना आयोग सदस्य डा। दामोदर भुसालले बताउनुभयो । तालिमबाट सिकेको सिपको प्रयोग गरी माटाका सामग्री निर्माण गरेमा बजारको स्थानीय सरकारले बजारको ग्यारेन्टी गर्ने इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताउनुभयो । संरक्षणको अभावमा कुमाल समुदायको पेसा सङ्कटमा पर्न थालेकोमा स्थानीय सरकार गम्भीर भएको उहाँले बताउनुभयो । तस्बिर – गोरखापत्र