
काठमाडौं। १३८ रनको स्कोरमै आठौं विकेट गुमाइसकेको नेपालले त्यसपछि शानदार कमब्याक गर्दै स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हाले ।

यससँगै आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा पनि नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको योगदान दिए भने म्याथ्यु क्रसले ४२ तथा ब्रेन्डन म्याकमुलनले ३१ बनाए । त्यस्तै केल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसीले ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

जवाफमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक नटआउट ९५ रन बनाए । करण केसीले नटआउट ३१ रन बनाए । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७, आसिफ शेखले १२ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले ३, क्रिस ग्रेभ्सले २ र ब्रेन्टन म्याकमुलन, सफ्याँ शरीफ र मिचेल लिस्कले समान १ विकेट लिए ।



