विश्वकप जित्ने प्रत्येक खेलाडीलाई मेस्सीले दिए सुनको आईफोन

spot_img

काठमाडौं । विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका खेलाडी र अन्य सदस्यले सुनकाे आईफोन पाएका छन् । राष्ट्रिय टिमका कप्तानसमेत रहेका स्टार फुटबलर लिओनल मेस्सीले विजेता बनेको खुशियालीमा टिमका प्रत्येक सदस्यलाई उपहार दिएका हुन् ।

आफ्नो जीवनको सबैभन्दा ठूलाे खुशीकाे पल मनाउन मेस्सीले यस्ताे उपहार दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनले उल्लेख गरेको छ । स्मार्टफाेन कस्टमाइेजन सेवा दिँदै आएकाे कम्पनी ‘आईडिजाइन गोल्ड’ ले मेस्सीले अर्डर गरेअनुरूप ३५ ओटा सुनकाे आईफोन तयार पारेकाे थियाे ।

विश्वकप जित्ने प्रत्येक खेलाडीलाई मेस्सीले दिए सुनको आईफोन

मेस्सीले विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि साे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्याेन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिएका थिए । यसलाई स्वीकार गर्दै मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनकाे आईफोन अर्डर गरेका थिए ।

यसपछि गत शनिबार कम्पनीले ३५ ओटा आईफोन १४ एस स्मार्टफोन डेलिभर गरेको थियो । उक्त आईफोन २४ क्यारेटको सुनले बनेको छ, जहाँ क्यामेराको छेउमा खेलाडीको नाम र जर्सी नम्बर छ भने एप्पल लोगोको ठाउँमा अर्जेन्टिना राष्ट्रिय फुटबल टिमको लोगो र तल ‘वर्ल्ड कप च्याम्पियन २०२२’ लेखिएको छ ।

मेस्सीले एउटा आईफोनका लागि एक लाख ७५ हजार पाउन्ड (करिब दुई करोड ७७ लाख रुपैयाँ) खर्च गरेको बताइएको छ ।टेकपानाले उल्लेख गरेको छ।