रुकुममा दुई बालिकाको हत्या

रुकुम – सुनका गरगहना लुटपाट गर्ने उद्देश्यका साथ रुकुममा दुई बालिकाको हत्या भएको छ। पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको प्रहरीले जनाएको छ।

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका ७ वर्षीया कञ्चन बुढा र उनकी दिदी ८ बर्षीया रिमा बुढाको हत्या भएको प्रहरीले बताएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जिता श्रेष्ठका अनुसार सुनको लोभमा दुई किशोरीले दुई बालिकाको हत्या गरेको पुष्टि गरिन्।

चैत २२ गते कञ्चन र रिमा घर नजिकै बारीमा न्युरो टिप्न गएका बेला उनीहरुको हत्या गरिएको थियो। कञ्चन र रिमाले सुनका गहना लगाएका थिए। बारीमा काम गरिरहेका दुई किशोरीमा सुनको लोभ लागेपछि उनीहरुले कञ्चन र रिमाले लगाएको सुनका गहना लुट्न खोजेका थिए।

‘दुई बालिकाहरुले सुनका गहना लगाएका रहेछन्, बारीमा काम गर्दै गरेका अरु दुई किशोरीलाई सुनको लोभ जागेछ,अनि उनिहरुले सुन लुट्न खोजेको देखिन्छ’, डिएसपी श्रेष्ठले भनिन्।

सुन लुट्न खोज्दा दुई बालिकाहरुले ती किशोरीहरुलाई चिनेको र आफूहरु फस्ने डरले किशोरीहरुले बालिकाहरुको हत्या गरेको थिए। सुरुमा उनीहरुले सुन लुट्न खोजे, तर बालिकाहरुले उनिहरुलाई चिनेपछि हत्या गरेका थिए।

प्रहरीका अनुसार ती किशोरीहरुले सुनको गहना लुटे अनि दुबै बालिकाको घाँटी थिचेर हत्या गरेका थिए। हत्या गरिएका दुई बालिकाको शव उनीहरुले भिरबाट फालिदिएका थिए। शव हत्या गरिएको स्थान भन्दा एक किलोमिटर टाढा भिरबाट अनकन्टार ठाउँमा भेटिएको थियो।

‘हत्या भैसकेपछि उनीहरुले घटना स्थल भन्दा एक किलोमिटर टाढा अनकन्टार ठाउँमा कसैले पनि नदेखोस् भनेर शव भिरबाट फालिएको अवस्थामा भेटिएको थियो’, डिएसपी श्रेष्ठले भनिन्। दुई बालिका उक्त दिन घर नफर्केपछि परिवारले छिमेकमा खोजतलास गर्यो। तर उनिहरु त्यो दिन फेला परेनन्। अर्को दिन बिहान (२३ गते) खोजतलास गर्ने क्रममा दुई बालिकाहरु छाँगा तल मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार हत्यामा संलग्न रहेको भनिएका दुई किशोरीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।डिसी नेपालले उल्लेख गरेको छ।