

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आइतबारबाट जिम्बावेमा शुरु हुदैछ । उद्घाटन खेलमा नेपालले घरेलु टोली जिम्बावेविरुद्ध खेल्दै छ । जिम्बावेविरुद्ध नेपालको उक्त खेल हरारे स्पोट्स क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट शुरु हुने छ ।

विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् ।

नेपालले दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सपुर सिक्समा एक समहूका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

सुपर सिक्समा सहजै स्थान बनाउन नेपाललाई तीन जित आवश्यक पर्ने देखिन्छ । दुई जितले सुपर सिक्समा पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । नेपाल नेदरल्यान्ड्स र अमेरिकालाई हराउँदै सुपर सिक्स खेल्ने लक्ष्यमा हुनेछ । जिम्बावे टेस्ट मात्रै नभएर घरेलु टोली पनि हो । जिम्बावे घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउनेछ । नेपालले एकदिवसीय खेलमा पहिलो पटक टेस्ट टोलीसँग खेल्न लागेको हो ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रही विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् । चैत २ गते सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा शीर्ष तीनमा रहेर नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको हो ।

विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेका छन् । नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।





