
मोरङ — कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न दलहरूलाई आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुख खापुङले एक विज्ञप्ति जारी गर्दृ प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले कांग्रेसका मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्तिलाई बदर गरिदिएपछि खापुङले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु गरेका हुन् । मुख्यमन्त्री दाबीका लागि साउन १६ गते मंगलबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापाको नियुक्ति प्रक्रिया अवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । जवकि थापाको नियुक्तिमा सभामुख बाबुराम गौतमले पनि पक्षधरता देखाएका थिए ।

सभामुखको भूमिकालाई लिएर आलोचना हुनुका साथै सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रक्रियालाई नै बदर भनी फैसला गरिदिएपछि मुख्यमन्त्री चयनका लागि नयाँ प्रक्रिया सुरु गरिएको हो ।




