

काठमाडौँ । भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन्।


एशिया कपको यात्रा सुरु हुनु अगाडि मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन्।

आगामी अगस्ट ३० मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यु पनि गर्दैछ। सोही एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ। त्यसका लागि नेपाली टोली मंगलबार पाकिस्तान प्रस्थान गर्दैछ।

भारत र पाकिस्तानविरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूविरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ। साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उनले बताए।







