कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

Open photo

काठमाडौं– कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई अघि बढाउन सत्ता गठबन्धनका दलहरू सहमत भएका छन्। माओवादी केन्द्रका एक नेताले बुधबार गठबन्धनका दलहरूबीच सहमति भएको बताए।

कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धनभित्र सहमति

कांग्रेसले दाबी छाडेपछि माओवादी केन्द्रका आङ्बोले अवसर पाउन लागेका हुन्। तर उनले गठबन्धन बाहिरका दुई दल एमाले वा राप्रपामध्ये कम्तीमा एक दलको साथ पाउनुपर्ने हुन्छ। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीका दाबी पेस गर्दा सांसदहरूले स्वतन्त्र निर्णय लिन सक्छन्।

यसअघि कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अघि सार्दा राप्रपाले आङ्बोलाई अघि सारिए समर्थन गर्न सकिने बताएको समाचार सार्वजनिक भएको थियो। मंगलबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट भएको थियो। त्यसमा कोशी प्रदेशमा सघाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीसँगको भेटमा लिङ्देनले सघाउने संकेत गरेका थिए। यद्यपि, राप्रपाले औपचारिक निर्णय भने लिइसकेको छैन। उसले शुक्रबार बिहान ८ बजे  पदाधिकारी बैठक बोलाएको छ। तर लिङ्देनले सार्वजनिक रुपमै अस्थिरताको कारण नबन्ने र मध्यावधि टार्नका लागि आफूहरूको तटस्थता तोड्न सक्ने बताइसकेका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि शुक्रबार साँझसम्ममा दाबी गर्नु पर्नेछ।

1

यसअघि सोही गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री भएका थिए। तर उनको नियुक्ति प्रक्रियालाई सर्वोच्च अदालतले दुवैपटक असंवैधानिक ठहर गरिदिएको थियो। त्यसैले कांग्रेसको तर्फबाट उनलाई पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी भइरहँदा विरोध पनि भएको थियो।

 

111Open photo