


काठमाडौं । टी-२० विश्वकप एसियाली छनोटको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ ।
यूएईलाई हराए नेपाल विश्वकपका लागि छनोट हुनेछ । यो प्रतियोगिताको फाइनल खेल्ने दुवै टोली विश्वकपमा पुग्नेछन् । खेल आज शुक्रबार बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएई भने समूह बीको विजेता हो ।


नेपाललाई अघिल्लो पटक विश्वकपमा छनोट हुनबाट यूएईले नै रोकेको थियो । त्यसैले यसपटक नेपाललाई बदला लिएर अघि बढ्ने अवसर पनि छ ।
सन् २०२२ फेब्रुअरी २२ मा टी- २० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईसँग हारेको थियो । जसका कारण नेपाल अष्ट्रेलियामा भएको टी-२० विश्वकपमा पुग्न असफल भएको थियो ।

दुई वर्षपछि फेरि नेपाल र युएई नै विश्वकपमा छनोट हुनका लागि खेल्दैछन् । फरक यो छ कि त्यसबेला नेपाल समूह विजेता र यूएई समूह उपविजेता थियो ।
नेपालले मुलपानी मैदानमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन । त्यसैले खेलाडीमा उत्साह देखिन्छ । नेपाललाई बिहीबार ओमानसँगको हारले समीक्षा गर्ने अवसर पनि दिएको छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी मैदान उत्रने झिनो सम्भावना छ । उनले बिहीबार नेटमा अभ्यास गरेका थिए । तर, खेल्न सक्ने नसक्ने अझै स्पष्ट छैन । उनी खेल्न नसके विवेक यादवले नै मौका पाउनेछन् । विवेकले ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए ।
दीपेन्द्र खेल्न सकेमा पनि विवेक प्लेइङ ११ मै रहन सक्ने सम्भावना छ, बरु सन्दीप जोरा बाहिर जान सक्नेछन् । मुलपानीको पिच स्पिनरका लागि सहयोगी भएकाले सन्दीप लामिछानेको खेल महत्वपूर्ण हुनेछ ।

यूएईका वृत्य अरविन्द मैदान उत्रने-नउत्रने टुङ्गो छैन । हङकङविरुद्ध खेल्नेक्रममा उनको नाडीमा चोट लागेको छ ।
नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कप खेलेको थियो । १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउन नेपालले फेरि एक पटक यूएईको तगारो पन्छाउनुपर्नेछ ।










