
जाजरकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


अहिले उनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिइरहेका छन् ।
उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाएका छन् ।


प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो । यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् । क्षतिको विवरण संकलन जारी छ ।










