

काठमाडौं। जाजरकोट भूकम्पका कारण ५२ हजार घरपरिवार प्रभावित बनेका छन्। तर, आधाले पनि राहत पाएका छैनन्।
कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्।


कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पका कारण हालसम्म १६ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् भने ९ हजार ९ सय ६१ घर आंशिक रूपले क्षति भएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले भौतिक क्षतिबारे तथ्याङ्क सङ्कलनको काम भइरहेको भन्दै ९ हजार ९ सय ६१ घर बस्न नमिल्ने गरी क्षति भएको बताए। उनले १६ हजार ५ सय ७० घर ध्वस्त नै भएको बताए।
भूकम्पका कारण रुकुम पश्चिममा २६ हजार र जाजरकोटमा २७ हजार घरपरिवार प्रभावित भएको बताए। उनले भूकम्पका कारण प्रभावित भएकामध्ये हालसम्म दुवै जिल्लाका गरी २३ हजारलाई राहत वितरण गरिएको जानकारी दिए।










