भाइटीका लगाउँदाका विधि तथा मान्यताहरु: भाइटीका लगाउँदा यस वर्ष दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्ने

Open photo

काठमाडौँ- तिहारको अन्तिम दिन अर्थात् भाइटीका । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

1

सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ ।  त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ ।

यस वर्ष दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

भाइपूजा गर्ने विधि
सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ ।

त्यसपछि पानी र तेलले पालैपालो दाजुभाइलाई सातपटक घेरी परिक्रमा गरिन्छ । त्यसपछि फूल, अक्षता आदिले दाजुभाइको पूजा गरी शिरमा तेल लगाइन्छ ।

तेल लगाएपछि सप्तरङ्गी निधारमा लगाइन्छ । निधारमा सेतो रङको लामो धर्को तानेर त्यसमाथि अरु छ रंङका टीका लगाइन्छ । सप्तरङ्गीमा इन्द्रधनुषका सात रङ्गहरू प्रयोग गरिन्छ । एकभन्दा बढी दाजुभाइ हुनेहरूले भाइटीकाको दिन सबैभन्दा कान्छोदेखि टीका लगाउन सुरु गर्ने प्रचलन छ । तर, यो कुनै शास्त्र उल्लेखीत नियम भने होइन ।

1

दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ । सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् । नेपालीहरूले दिदीबहिनीको पाउमा ढोगे पनि भारत तथा अन्य मुलुकमा भने जो उमेरमा ठूलो छ उसलाई मात्र ढोग्ने प्रचलन रहेको छ ।

111