
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बालकुमारीको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन्।
आज नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताए।

उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको पनि दावी गरे। घटनाको अन्तर्यमा अरू नै केही कुरा भएको उनको भनाइ छ।


उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन। म त्यो दिन दोलखामा थिएँ। म अहिले सबै भन्न चाहन्न। केही गम्भीर लागेको छ, सामान्य छैन। त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने लागेको छ।’

उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए। उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारो बाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने बताए। उकेराले उल्लेख गरेको छ ।







