नवलपरासी : सुस्तामा हजुरबुवा र नातीको हत्या

spot_img

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जनाको हत्या भएको छ । हत्या हुनेमा हजुरबुबा र नाती छन् । गएराति अन्दाजी १ – २ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमार छन् । उनीहरुको हत्या घरमै भएको हो । सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

मृतक अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । पछिल्लो समय छोरा रोजगारीका लागि भारत गएको र बुहारी पनि एक नाती र एक नातिनी लिएर भारत माइती घरमा गएकी थिइन् । एक नाती गौचरण भने मृतक अक्षयलालसँगै बस्दै आएका थिए ।

हत्यापछि उनीहरुको शव हत्याराले आँगनमा ल्याएर राखेका थिए । घटनास्थल रगताम्य देखिएकाले धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेर राखेको छ । घटनाको अनुसन्धान गर्न भैरहवाबाट कुकुर झिकाएकाले थप अनुसन्धान त्यसपछि मात्र खुल्ने एसपी आचार्यले बताउनु भयो ।