तरुण दलका सदस्य गिरीलाई गोली हान्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

spot_img

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ गैरी चोकमा नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरी गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोली हान्ने समूहका चार जनालाई आज (आइतबार) सार्वजनिक गरेको हो ।

पकाउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका– २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका– ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत छन् । घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित गणेश होटेलमा बास बसेको प्रहरीले जानकारी दिएको छ । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्व योजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा तीन जना सँगै बसेका थिए ।

एक आशंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइ दिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ । गए राति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका–१ स्थित गैरीचोकमा उनीमाथि एक राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो । घटनाका बारे थप अनुसन्धान जारी रहेको र आशंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।