अर्घाखाँची: शितगंगा नगरपालिकाले घुम्ती शिविर सञ्चालन गर्दै

spot_img

-सुर्य प्रसाद भुसाल।

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू घुम्ती शिविरबाट टोल टोलमा प्रदान गर्ने भएको छ ।

नगरपालिकाबाट खटिएका कर्मचारीको टोलीले नागरिकताको सिफारिस दिने, जन्मदर्ता गराइदिने, मृत्यु दर्ता गराइदिने, आवश्यक सिफारिस र कागजात निर्माण गर्ने जस्ता सेवा दिने गरी शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सर्माले जानकारी दिए ।

नगरपालिकाबाट पाइने सेवा वडा कार्यालयबाट घुम्ती शिविरमार्फत पाउँदा तथा सेवा आफ्नै टोलमा नै आउने भएपछि आफूहरु अहिले काम लिएर नगरपालिका नगएको र शिविरबाटै सेवा लिने तयारी गरेको शितगंगा-११ का गणेश पुलामीको भनाइ छ l शितगंगा नगरपालिकाले नगरका सबै वडामा एकीकृत घुम्ती सेवा सञ्चालन गरी नागरिकलाई घरदैलोमा नै सेवा दिइने गरी सूचना जारी गरेको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले बताए ।

विशेषगरी नगरपालिकाले घुम्ती शिविरमार्फत अपांग परिचय पत्र, डाक्टरहरुबाट बिरामीको स्वास्थ्य जाँच, ज्येष्ठ नागरिक परिचयपत्रको सेवा प्रदान गर्ने भएपछि खुसी लागेको शितगंगा-११ का राजु बिकले बताए ।

नगरपालिकाले नगर सरकार, जनताको घरघर कार्यक्रम अन्तर्गत फागुन महिनाभर कार्यक्रम सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण नवीकरण, नयाँ लाभग्राहीको विवरण दर्ता, एकीकृत सम्पत्ति कर, मालपोत सेवा तथा व्यापार व्यवसाय दर्ता र नवीकरण सेवा दिने तयारी गरेर सम्बन्धित सरकारी कार्यालयसँग सहकार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले मध्यान्हलाई बताए ।

नगरपालिकाले फागुन २१ गते वडा नम्बर ६ जुकेना र वडा नम्बर ७ का स्थानीयका लागि  शिवादहमा शिविर सञ्चालन गर्ने छ भने फागुन २२ गते वडा नम्बर ८ का जनतालाई शिविरमार्फत वडा कार्यालय लाहापेबाट सेवा दिने नगरपालिकाका योजना अधिकृत खनालले बताए । खनालका अनुसार वडा नम्बर ९ को केही भागको पाएक पर्ने क्षेत्रका जनता, वडा नम्बर १० र वडा नम्बर ११ को केही भागका पाएक पर्ने जनतालाई सिद्दारा १० हर्रे र वडा कार्यालयबाट शिविर सञ्चालन गरी सेवा दिइने र अरु वडामा पछि मिति तय गरी शिविर सञ्चालन गरिने अधिकृत खनालले बताए ।

जनताको घरदैलोमै सेवा दिँदा वास्तविक विवरण आउने, करको दायरा बढ्ने तथा यसबाट सुशासन कायम हुने नगरपालिकाले अपेक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । शितगंगा नगरपालिका भौगोलिक हिसाबले नेपालकै सबैभन्दा विकट नगरपालिका हो । नगरपालिकाको एउटा वडाबाट अर्को वडामा जान पैदल हिँड्दा दिनभर समय लाग्ने भएका कारण जनतालाई स्थानीय सरकार छ भन्ने अनुभूति गराउनका लागि शिविर सञ्चालन गर्न लागिएको नगरप्रमुख छबिलाल पौडेलले बताए ।

शितगंगा नगरपालिका पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ र प्यूठानसँग जोडिएर बनेको निकै ठूलो भूगोल भएका कारण जनप्रतिनिधिहरु दिनरात विकासका लागि खट्दा समेत बजेट अभाव हुने र सोचेअनुसार विकास गर्न अप्ठ्यारो पर्ने गरेको नगरपालिकाकी उपप्रमुख गिता भाटले बताइन् ।

आयश्रोतको हिसाबले सम्पन्न हुनुपर्ने नगरपालिका संघीय कानून र प्रदेश कानूनले धेरै कुरामा वञ्चित गरेका कारण आन्तरिक राजस्व सोचेजति उठ्न नसकेको नगरपालिकाका प्रवक्ता दामोदर न्यौपानेले बताए ।

अन्य समाचारहरु