
-अनिल नेपाली, अर्घाखाँची डटकम
अर्घाखाँची । सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकविरुद्धको जाँच अभियानलाई तीव्रता दिएको छ।


आइतबार सन्धिखर्क नगरपालिका–१०, विहारा बजार क्षेत्रमा सवारीसाधन जाँचलाई कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक लिलबहादुर कुँवरले जानकारी दिनुभयो।


चाडपर्वका समयमा चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले यात्रुको सुरक्षित आवागमनका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाहीसमेत गरिएको कुँवरले जानकारी दिनुभयो।


उहाँले कुनै पनि चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा यात्रुले तत्काल जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभएको छ।

जाँच अभियानमा ट्राफिक प्रहरी हवल्दार रणबहादुर सेन, सहायक हवल्दार सुरज रानालगायत प्रहरी कर्मचारी सहभागी थिए।

तस्बिर : अनिल नेपाली









#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #अर्घाखाँची #सडकसुरक्षा #मापसेजाँच




