

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे।


‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’


श्रीवास्तवले नेपाल–भारत सम्बन्ध मौलिक रहेको चर्चा गर्दै उनले विगतमा जस्तै असल सम्बन्ध कायम रहने विश्वास पनि व्यक्त गरे। आपसी विश्वासका साथ सहयोग र लगानीका काम निरन्तर गर्ने उनको प्रतिबद्धता थियो। – एनपि









