त्रिकोणात्मक टि–२० सिरिज आजदेखि हङकङमा सुरु हुँदै

spot_img

काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले आज हङकङको सामना गर्नेछ । सिरिज बुधबारसम्म चल्नेछ ।

सिरिजमा नेपाल, आयोजक हङकङ र पीएनजी सहभागी हुँदैछन् । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो ।

यसअघि शनिबार भएको हङकङ विरुद्धको टी–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङममा भएको खेलमा हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३९ रनमा समेटियो ।

नेपालका विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै, कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रन जोडे । नेपाललाई सस्तोमै समेट्न हङकङका एइजाज खानले ४ विकेट लिए । यस्तै, एहसान खानले ३ तथा अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हङकङका बाबर हायातले १ सय १० रनको शतक प्रहार गरे । नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए ।