काँग्रेसले लगाएको आरोपको जवाफ दिने पर्खाइमा छु : उपप्रधानमन्त्री लामिछाने

spot_img

काठमाडौंं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताउनुभएको छ । शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै काँग्रेसले सदन अवरुद्ध पारेपछि उहाँले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनासाथ सदनमा दिने बताउनुभएको हो ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेको प्रश्नसहित काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्याण्डेटको शक्तिमा काम गरिरहने बताउनुभयो । उहाँले सुन तस्करीमा संलग्न जो कोहीलाई कारवाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘जवाफ दिन तयार छु । सभामुखको रुलिङको प्रतिक्षा गरिरहेको छु । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गरिसक्नु भएको छ । अव यत्रा चिजहरु छन । यही एउटा चिज मात्र काँग्रेसले पाएको भए काँग्रेसलाई गफ गर्ने चिजहरु आज बेलुकाबाट पनि आउँछ । सुन तस्करीको विषयमा प्रतिपक्षमा हँुँदाखेरीदेखि नै उठाएको विषय यहाँहरुलाई अवगत नै छ । यो त्यतिखेर बनेको एउटा आयोग हो । त्यो आयोगले प्रतिवेदन बुझाएको छ । बुझाएको प्रतिवेदनमा मेरो हात पर्र्ने बित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाएर र प्रधानमन्त्रीले गो अ हेड जे छ त्यही भनिसकेपछि त्यस सम्बन्धि कुरा अगाडि बढेको छ । काँही कतै कसैसँग कुनै कम्पमाइज हुँदैन । आयोगले दिएको प्रतिवेदनमा भएका विषयवस्तुमा टेकेर रिइन्भेष्टिगेशन हुन्छ । जजसलाई उन्मुक्ति दिन खोजिएको छ । उन्मुक्ति दिनेहरुमाथि पनि कारवाही हुन्छ ।’ उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो ।

‘म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन । तर मेरा लागि आजको दिन अन्तिम दिन हो भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिवद्ध भएर आएको छु । केही गरौं भनेर, केही राम्रो काम गरौं भनेर । सुशासनको प्रत्याभूति दिउँ भनेर आएको हुनाले त्यसमा मलाई केही पनि भन्नु छैन । निमर्म ढंगले प्रतिवेदनले दिएका विषयहरुमा हामी कारवाहीको प्रक्रिया अघि बढाउँछौं । आजैबाट सुरु हुन्छ । काँग्रेसले जवाफ पाइरहन्छ । ।’

उपप्रधानमन्त्री लामिछानेले सुन तस्करीमा संलग्नहरुले कसैले पनि उन्मुक्ति नपाउने पनि बताउनु भयो ।