पर्यटकीय राजधानी घोषणा कार्यक्रम : आजदेखि पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

spot_img

पोखरा । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

आइतवार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउनु भयो । उहाँले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गर्नुभयो । उहाँले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताउनुभयो ।

‘आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुनेछन् । साथै डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्नेकुरा जानकारी गराउन चाहन्छु । राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौँ । बेगनास तालमा क्रुज शिप सञ्चालन गरिनेछ । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिनेछ । पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा वृहत ध्यानकेन्द्र निर्माण गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गरिनेछ ।’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको पनि बताउनुभयो ।