आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी

spot_img

काठमाडौं- नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।

नेपालका लागि गुलशन झाले सर्वधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र विवेक यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ ।