एमडीएमएस खरिद प्रकरण : प्राधिकरणका दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ९१ करोड ९८ लाख बिगो मागदावी

भ्रष्टाचार मुद्दामा ९१ करोड ९८ लाख बिगो मागदावी

spot_img

काठमाडौं । नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरिएको छ ।

आयोगका अनुसार एमडीएमएस खरिद तथा उपकरण जडानमा अनियमितता गरेको पुष्टि हुन आएकाले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए । उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया ,परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्राधिकरणबाट एमडीएससम्बन्धमा सुरूदेखि भएका नीतिगत निर्णय, खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यमाथि प्रश्न उठाउँदै कागजात झिकाएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो । नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो ।

-एनपि