गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

spot_img

 

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

शनिवार सभामुख देवराज घिमिरेले बोलाउनु भएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा काँग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताउनुभएको हो । नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गर्नु भएको थियो । त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताउनु भयो । सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ ।

उहाँले भन्नुभयो, ‘१८, १९, २०, २१ सम्मको सदन कसरी चलाउने भन्ने विषयमा छलफल भएको थियो । त्यसमा प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धि विधेयक चाँही विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याउ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमती भएको छ ।

नेपाली काँग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो ।