पूर्वमाओवादी मात्र होइन देशभक्त र वामपन्थीहरु छिट्टै एक हुन्छौं : प्रचण्ड

spot_img

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी मात्र नभई सम्पूर्ण देशभक्त र वामपन्थीहरु छिट्टै एक हुने बताएका छन्।

२४ औं जेलब्रेक स्मृति दिवसका अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले त्यसैका लागि आफूले गठबन्धन परिवर्तन गरेको बताए।

‘भर्खरै मैले सरकारको नेतृत्वका हिसाबले जुन समीकरण गरेको छु, यो रणनीतिक छ, दूरगामी छ। मेरो विश्वास हो कि यो क्रान्तिकारी पनि छ। प्रचण्डले भने, जोखिम छ, चुनौती छ । तर यसले मात्रै सबै देशभक्त र वामपन्थीहरुलाई एक ठाउँमा केन्द्रित गर्न सक्छ ।’

यसबाट मात्रै नेपालको मौलिक समाजवादको यात्रा कोर्न सक्ने उनको भनाइ छ।

उनले अहिले पनि आफू जनयुद्धको बेलाभन्दा बढी खटेको र लडेको भन्दै थपे, ‘मैले आफ्नो हिस्साको वर्गसंघर्ष अहिले पनि चलाइरहेको छु।’

उनले विभाजित माओवादी सहयात्री दलहरू छिट्टै एकताबद्ध हुने र त्यसका लागि आवश्यक वातावरण निर्माणका लागि पहल गर्न पनि सबैलाई आग्रह गरे ।