गुजरातमाथि नेपालको सानदार जित, बलिङमा उत्कृष्ट प्रदर्शन

spot_img

काठमाडौँ  – नेपाली राष्ट्रिय टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा भारतको स्टेट टीम गुजरातमाथि सानदार जित हात पारेको छ । आइतबार भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले जितका लागि दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे । साथै अनिल साहले ३२ रन जोडे । यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल १५ बलमा १७ रन र आशिफ सेख १५ बलमा १६ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा समेटिएको थियो । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेलिरहेकाे हो । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ । नेपाल र गुजरातबाहेक यस प्रतियोगितामा बरोडा पनि रहेको छ । नेपालले हालै आफ्नै मैदानमा आयरल्यान्ड वुल्भ्सविरुद्ध दुई टि-२० को सिरिज खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदै छ ।

-एनपि