सुनसरीका पाँच पालिकामा कर्फ्यु

spot_img

सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच वटा पालिकामा कर्फ्यु लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच साम्पद्रायिक दंगा भड्किने खतरा बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

यस्तै महेन्द्र राजमार्गमा पनि सुरक्षा सतर्कता बढाइएको छ । राजमार्गमा लामो दूरीका सवारी साधनलाई सुरक्षा निगरानीमा राखेर आवतजावत गर्न दिइएको छ ।

हरिनगर गाउँपालिका–१ भुटाहामा हिजो एक युवकमाथि स्थानीयले कुटपिट गरेको घटनालाई लिएर दुई समुदायबीच झडप भएको थियो । प्रशासनले सो गाउँपालिकाका दुई वटा वडामा हिजो नै कर्फ्यु लगाएकोमा आज कर्फ्यु तोड्दै उग्र प्रदर्शन भएको थियो ।

प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली नै चलाउनु परेको थियो । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको छ । प्रहरीसंगको झडपमा अरु दश जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीतर्फ १८ जना प्रहरी सामान्य घाइते भएका छन् ।

प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"